काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा ३० हजार यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट लिएका हुन् ।
सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । सरकारले पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर तथा सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।