काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापतको प्रिमियम महशुल तिर्न बाँकी रहेका उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै नेपाल विद्युत् प्राधिकरणले पुनः पत्र पठाएको छ ।
यसअघि गत असार ९ गते १५ दिनको म्याद तोकेर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि उद्योगीले तिर्नुपर्ने ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न नमानेपछि प्राधिकरणले केही उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको थियो । प्राधिकरणले त्यसबेला अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट,जगदम्बा सिन्थेटिक, रिलायन्स स्पिनिङ मिल्स,हुलास स्टील र जगदम्बा स्टीललाई दिइएको बिजुली काटिदिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक र विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि दबाबमा परेको प्राधिकरणले साउन ८ गते ३ महीनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ती उद्योगमा पुनः बिजुली जोडेको थियो । विद्युत् नियमन आयोगको निर्देशनका आधारमा प्राधिकरणले उद्योगीहरूलाई ३ महीना समय दिएको हो ।
उद्योगीहरूले भने टीओडी रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् ।उनीहरूले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने अडान लिएका हुन् ।