काठमाडौं । बुटवलको सुप्रिम सहकारीका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सहकारीमा डुबेको बचत फिर्ताको सुनिश्चितता नभएको र बचत अपचलन गर्नेहरूमाथि सरकारले अनुसन्धान नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
बचतकर्ताको रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र व्यक्तिगत रूपमा रकम लग्ने रवि लामिछानेको कारोबारमाथि छानबिन गर्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताका लागि हारगुहार गरेको एक वर्ष पुग्दा पनि सरकारबाट कुनै पहल नभएपछि फेरि आन्दोलन सुरु गर्नुपरेको सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताएका छन् ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताबाट संकलन भएको १ अर्ब ३१ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सचिव कुमार रम्तेल, भूपेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कसहित २८ जनाले बचत अपचलन गरेको देखिएको छ ।
रास्वपाका सभापति एवं तत्कालीन गोर्खा मिडिया नेटवर्कका कार्यकारी निर्देशक रवि लामिछानेले पनि सुप्रिम सहकारीबाट बैंकमार्फत रकम ट्रान्सफर गराएर २ करोड लगेको अनुसन्धानले देखाएको छ । तर, प्रहरीले लामिछानेलाई प्रतिवादी बनाएको छैन । त्यही प्रतिवेदनका आधारमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर कारबाहीको मागसहितको मुद्दा अदालत पेस भइसकेको छ ।