काठमाडौं । फेरि सत्तासमीकरण फेरबदलको हल्लाले बजार पिटेको छ । खासगरी सत्ताघटक दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच बढेको द्वन्द्वले नयाँ समीकरणको बन्ने सम्भावनालाई बढाएको हो । र, यसका लागि अहिलेको गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्वबीच शृंखलाबद्ध छलफल भइरहेको छ । दुवै दलका दोस्रो तहका नेताबीचबीच सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने प्रयास भइरहेको छ । उनीहरुबीच सहमति भएमा १०–१५ दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बुझिएको छ ।
स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नै शृंखलाबद्ध भेटवार्तामा छन् । जसकारण झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा बोलाएर भेट गरे । भेटमा भएका कुराबारे कुनै नेताले पनि प्रतिक्रिया भने दिएका छैनन् ।
फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको थियो । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको हो ।
कांग्रेस र एमालेबीच संसद्को बाँकी कार्यकालमा दुवै दलले आधा–आधा कार्यकाल सरकार चलाउने र प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउनेसमेत सहमति भइसकेको छ ।
कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।
अहिले खासगरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्ने विषयमा ओली र प्रचण्डबीच टकराव बढेको छ । त्यस्तै बजेटमा ‘जनयुद्ध’ शब्द राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीले आपत्ति जनाइरहेका छन् ।