काठमाडौं । अहिले काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । काठमाडौंका मेयर बालेन शाहले आफ्ना कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै नेताहरुलाई टुकुचामा गाड्ने भनेपछि विवादले उग्ररुप लिएको हो ।
यतिसम्म कि, काठमाडौं महानगरले विवादित काठमाडौं टावर भत्काउने तयारीसमेत गरेको छ । तर, कर्मचारीले तलब नपाउनुमा दोष कसको हो त ? बुझ्न जरुरी छ । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगरले काम गर्नै नदिएपछि विवाद सुरु भएको हो । यतिसम्म कि, कार्यालयमा ताला नै लगाएर महानगरले प्रशासकीय अधिकृतलाई प्रवेश नै निषेध गर्यो ।
अनाधिकृतरुपमा काठमाडौं टावरको नक्सापास गरेको भनेर अधिकृतमाथि छानबिन गर्न समिति पनि बनायो । तर समितिले अधिकृतको दोष देखाएन । तै पनि उनलाई कार्यालयमा प्रवेश गर्न दिइएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अभावमा महानगरका थुप्रै काम प्रभावित भएका छन् । यहाँको शिक्षकले तलब नपाएको चार महिना नाघिसक्यो । अरु कुनै विकासे योजनाको काम भएकै छैन । विकास बजेट खर्च गर्नै नसकेर तनाव छ ।
एउटा जिम्मेवार मेयरले कूटनीतिक हिसाबमा समस्याको समाधान गर्नुपर्ने हो । तर, उनलाई काम गर्नभन्दा फेसबुकमा स्टाटस लेख्नै सजिलो लाग्छ । र, उनका अनुयायीहरु पनि त्यहीं चाहन्छन् ।