Techie IT
Friday, February 21, 2025 | शुक्रबार, फागुन ९, २०८१
२०८१ फागुन ९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर

सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर


छत्रबहादुर बोहरा– सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर । जसको देहलाई हामीले केही दिनअघि गुमायौं । तर, उहाँको योगदान चीर स्मरणीय छ ।

ऐतिहासिक पिस्कर आन्दोलनका अग्रज व्यक्तित्व तथा विद्रोही जनप्रतिनिधिका रुपमा असाधारण योगदान दिएका बोहराले ८३ वर्षको उमेरमा देहत्याग गर्नुभयो । जीवनका ऊर्जाशील दुईतिहाइ समय नै जनता, परिवर्तन र पिस्करको पक्षमा खर्चनुभएका बोहराको जीवन संघर्ष निक्कै उत्प्रेरक छ । एक अर्थमा नेपाली कम्युनिष्ट आन्दोलनमा निष्ठा र त्यागको धरोहरनै हुनुहुन्थ्यो– क. छत्र ।

हिजोको पिस्कर सामन्ती शोषण, दमन र अत्याचारको क्रिडास्थल नै थियो । त्यहीं कारण पिस्करले विद्रोहको नयाँ जग बसाल्यो । वर्गसंघर्षको नयाँ आधारभूमि निर्माण गर्यो । पंचायती निरंकुश राजतन्त्रविरुद्व उठेको विद्रोहको प्रेरणाको स्रोत बन्यो पिस्कर र छत्र कमरेको संघर्ष ।

पिस्कर आन्दोलन, गरिबभन्दा गरिब किसानले जमिन्दारी प्रथाविरुद्व छेडेको वर्ग सचेत जागरणको इतिहास हो । यो आन्दोलन जनस्तरको गहिराइ र व्यापक समुदायमा फैलाउने अभियानका आधा दर्जन अगुवामध्ये एक र बारम्बार जनताबाट निर्वाचितहुँदै आफ्ना कर्मलाई बेदाग अनुमोदन गरिरहने जनताका लोकप्रिय नेता हुनुन्थ्यो, काम्रेड छत्र । अरुभन्दा अलग भूमिकामा रहेर विशिष्ट छाप छोड्नसक्ने कुशल व्यक्तित्वका रुपमा पनि अधिकांश स्मृतिमा हुनुहुन्छ उहाँ ।
जनप्रिय अथक योद्धा छत्र काम्रेडको निधनले धेरै सिन्धुवासीलाई रुवायो । अझ खासगरी नेकपा एमालेका नेताहरुले छत्र काम्रेडलाई सम्झियौं र सम्झिरहनेछौं ।

छत्र, संघर्ष र पिस्कर

थामी समुदायको बाहुल्य रहेको पिस्कर उत्पिडनको पर्यायवाची गाउँ थियो । तीन अवस्थामा सामन्ती चरित्रको शोषणले व्याप्त पिस्कर गाउँ हाल विपुरा सुन्दरी गाउँपालिका–४मा पर्दछ । पिस्कर वर्गसंघर्ष, जन प्रतिरोधको उत्प्रेरक भूमिको रुपमा चिनिँदै आएको छ ।

गरीब समुदाय र विपन्न ठाउँको नेता हुन सजिलो हुन्न । तथापि यो गाह्रो काम गाउँका तत्कालीन प्रधानपन्च र पछि कम्युनिष्ट पार्टीको निर्वाचित जनप्रतिनिधि कमरेड हर बहादुर बोहराले व्यहोर्नुभयो ।

सिन्धुपाल्चोकको ‘भकारी कब्जा आन्दोलन’मा एक जनमुखी राजनीतिक व्यक्तित्व, जनउत्तरदायी प्रतिनिधि र कठोर परिस्थितिमा वर्गीय आन्दोलनप्रति प्रतिवद्ध कमरेड छत्र बहादुरको योगदान अनुकरणीय र प्रेरणादायी छ ।
घरको दुःखले गर्दा २०१६ सालतिर छत्र बहादुर बोहरा नेपाली सेनामा भर्ती हुनुभयो । झण्डै १०– ११ वर्ष सेनामा सेवा पनि गर्नुभयो । पछि, गाउँको दारुण परिस्थितिमा तथा घरपरिवारको आग्रहमा उहाँ सैनिक सेवाबाट राजिनामा दिएर गाउँको सेवामा संलग्न हुनुभयो ।

राजनीतिक संगठित जीवन

कमरेड छत्र बहादुर बोहराको राजनीतिक जीवन अगाडिबाटै शुरु भएको भए पनि संगठित राजनीतिक जीवन २०२८ सालमा पार्टी सदस्यता लिएपछि प्रारम्भ भयो । शुरुमा कमरेड पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीको भातृ संगठन क्रान्तिकारी किसान संघमा संगठित हुनु भयो । उक्त संगठनमा उहाँ लगायत उहाँका दाजु वीर बहादुर बोहरा, जङ्गबहादुर चामी, नालजङ्ग पाण्डे, हकंबीर थामी पनि हुनुहुन्थ्यो ।

जन्म, परिवार

तत्कालीन गाउँ विकास समिति (गाविस) को वडा नं ४ देवीस्थान गाउँमा १९९८ सालमा जन्मनु भएका छत्र बहादुर बोहरा माता ईन्द्र कुमारी बोहरा र पिता उत्तरध्वज बोहराका पांची सन्तान हुनुहुन्छ। उहाँका तीन जना दिदीबहिनी र चार जना दाजुभाईमध्ये दुई दिदी र एक जना दाजुको पहिला नै निधन भैसकेको थियो ।

छत्रले आफ्नो राजनीतिक दौडधुप र जनताका काम गर्दागर्दै विरामी श्रीमतीलाई समय दिन सक्नुभएन र समयमा उपचार नभएर २०३७ सालमा श्रीमती गुमाउनु भयो । छोराछोरी हुर्काउनेसमेत जिम्मेवारी आफ्नै काँधमा एकलौटी परेको कारण पार्टीमा पूर्णकालीन हुन सक्नुभएन । दोस्रो विवाह गर्ने छत्र कमरेडको इच्छा नभए पनि पारिवारिक समस्या बुझेर कमरेड अमृत बोहरा, कमरेड अष्टलक्ष्मी शाक्य र कमरेड मदन भण्डारीले नै पूर्वमा पार्टी काममा जुटिरहनु भएकी महिला कमरेड ईश्वरी सुब्बासँग विवाहको चाँजोपाँजो मिलाउनु भएको थियो । ईलाममा राजनीतिक संगठनमा काम गर्दा वारेन्ट हुनु भएका क. सुब्बासँग पार्टीको सल्लाह र निर्देशनमा काठमाडौं जैशीखेलमा कमरेड राममाया श्रेष्ठको घरमा

पिस्कर हत्याकाण्डको भयानक रात

तत्कालीन समयमा जनसांस्कृतिक कार्यक्रमहरू धेरै हुन्थे । झन सामाजिक पर्वमा जम्मा भएका सर्वसाधारणलाई परिवर्तनको पक्षमा उभ्याउन जनतामा चेतना छर्ने मौकाको रुपमा उपयोग गरिन्थ्यो । तीजको जात्रामा राम्रै कार्यक्रम हुन्थ्यो । जनताका गीतहरू गाइन्थ्यो । झन पिस्करमा माघे संक्रान्तिको बेलामा राम्रै जमघट हुने प्रचलनले केही तयारी गर्ने पर्छ भन्नेसहमति बनेको थियो। चिनियाँ कथा ‘राती बास्ने भाले’ नामक कथामा आधारित नाटक प्रदर्शित गर्ने र त्यसको रिहर्सल थाल्ने निर्णय पनि भयो ।

नाटक र जनवादी गीतहरूको तयारी चल्दै गर्दा स्थानीय सामन्त फटाहाहरूले सुइँको पाए । अझ गाउँका दलालहरूद्वारा दमन बढाउन उग्रवादी नेताहरू धेरै आउँछन् भनेर प्रचार थालिएको थियो । माघको चिसो बढेर मध्यरात टर्दै गर्दा प्रहरीहरू दाबी खोलाबाट लुक्दै पिस्कर छिरिसकेका थिए । महादेव थानमा जम्मा भएका करिव पाँच सय जात्रालुहरू खाजापानी गर्दै थिए। नाटक सकिए पनि मञ्चमा पेट्रोलम्यास बलिरहेको थियो । साँस्कृक्तिक टोली र स्थानीय कलाकारहरू तितरवितर भैसकेका थिए ।

प्रहरीहरूले एकाएक मञ्चमा उक्लेर पेट्रोलम्यासलाई लाठीले हिकांएर फुटाए । उपस्थित गाउँलेमाथि अन्धाधुन्ध लाठी चलाउन बाले। बालबच्चा महिलाहरूको कोलाहल भयो । यो प्रकारको ज्यादती सहन नसकी जनताहरू प्रतिकारमा उत्रिए । दोहोरो ढुंगामुढा भयो । प्रहरीले गोली चलाउन थाल्यो । मकै, भटमास, रोटी, कन्दमुल, उसिनेको फर्सी खाएर आफन्तसँग बिहानको उज्यालो कुर्दै गरेका स्थानीय गाउँलेहरूले कल्पनै नगरेको आतंकको सामना गर्नुपन्यो ।

उक्त कार्यक्रममा कलाकारको भूमिका निर्वाह गर्ने तिलकमान थामी, शुक्रमान थामी, सिंह बहादुर थामी, चतुरमान थामी, जगत बहादुर थामी आदि थिए । कार्यक्रमका सञ्चालक पलाँतीका बम बहादुर पौडेल थिए । कार्यक्रममा मूलतः केही प्रहशनहरू पनि जोडिएको थियो ।

अन्धविश्वासबाट जनतालाई सचेत बनाउने, जस्तैः धामी झाँक्री प्रथा, बोक्सी प्रथा, बालविवाह आदि विषयमा केन्द्रित थियो । मूल नाटक ‘राती बास्ने भाले’को कथा गाउँको सामन्तले घरमा कामदारहरूलाई आधा रातमै उठाएर काममा जोताउन आफै भाले बनेर बास्ने गरेको विषयमा थियो । एक दिन ‘यो भाले सक्कली हो कि नक्कली हो’ भनेर ढुकेर जाँच गर्दा फटाहा सामन्त आफै फेला परेपछि खेताला कामदारहरूले भकुरे ।

मञ्चमा सामन्तलाई कुट्न भनेर दर्शकहरू आफै मञ्च तर्फ कुदेका थिए । यी वर्ग चेतना दिने ज्ञानवद्र्धक प्रदर्शनले जनतामा अभूतपूर्व उत्साह जगाएको थियो । वर्ग घृणा र प्रतिरोधी धारणा बनाउन सघाउँथ्यो ।

दमन हिंसात्मक हुँदै गएपछि बालवच्चा वृद्धहरूको संरक्षण गर्न किसानहरूको दौडधुप भयो। जनता बचाउन प्रतिरोध गर्न पनि छोडेनन् । एक्कासी इंले थामीको पेटमा गोली लाग्यो । छताछुल्ल भएको आन्द्राभुँडी एक हातले सम्हाल्दै अर्को हातले प्रतिरोध गर्न खोज्नु भयो । सक्नु भएन । वर्ग संघर्षमा होमिएका एक जना योद्धा ढल्नु भयो । वीर बहादुर बामीको टाउकोमा गोली लागेर घटनास्थलमा नै शहादत भयो। सोना तामाङ्ग, पाल्कमाया थामी, जगत बहादुर बोहराको हातमा गोली लाग्यो । घाईतेहरूलाई डोरीले बाँधेर कब्जामा लिए र ईलेलाई घिसार्दै तलसम्म लगेर खाल्डो खनी स्याउलाले पुरे र प्रहरीहरू फर्के ।

हो, यस्तै कहालीलाग्दो आन्दोलनका योद्धा थिए– छत्रबहादुर बोहरा । अब उहाँको भौतिक शरीर त हामीमाझ छैन तर उहाँको योगदानलाई सधैं सम्झिरहनेछौं ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजेन्द्र महतोको नेतृत्वमा पाथीभरा केवलकारविरुद्ध प्रदर्शन

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

स्ववियु चुनावसँग किन डरायो रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर,

शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्।

देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न बन्यो समिति, पाण्डे संयोजक

काठमाडौं । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न

हेलम्बुमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, दुई सयभन्दा बढीले लिए सेवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शनिबार भएको ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका गाउँपालिकाले जनाएको

Techie IT