काठमाडौं । सहकारी रकम अपचलन गरी कुम्ल्यालाएको अर्बौं रुपैयाँ पचाउन सञ्चालकहरुले नक्कली डिभोर्स गरेका थुप्रै प्रमाण फेला परेका छन् । सरकारीको १४ करोड रुपैयाँ पचाउन कांग्रेस उपसभापति धनराज गुरुङले नक्कली डिभोर्स गरेको चर्चाबीच यस्ता अरु घटना पनि सतहमा आएका हुन् ।
यसरी रकम कुम्ल्याउन नक्कली डिभार्स गर्नेको पहिलो नम्बरमा आउँछन्, ओरियन्टल को–अपरेटिभका अध्यक्ष सुधीर बस्नेत । उनले सहकारीको रमक अपचनकै मामलामा श्रीमती नितु वस्नेतसँग कागजी डिभोर्स गरेका थिए । उनले २०६९ भदौअघिसम्म महँगो ब्याज दिने प्रलोभनमा चार हजार २५९ बचतकर्ताबाट तीन अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ उठाएका थिए ।
बचतकर्ताको अपचलन गरेको रकम व्यवस्थापन गर्न श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गर्ने अर्का सहकारी सञ्चालक हुन्, सिभिल सहकारीका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ । करिब दुई हजार बचतकर्ताबाट पाँच अर्ब ५९ करोड रुपैयाँ उठाएका उनले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभार्स गरेका थिए ।
त्यस्तै ३७ हजार बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार ठगी गरेर श्रीमतीसँग डिभोर्स गरेका अर्का सञ्चालक हुन्, सुमेरू सहकारीका अध्यक्ष भरत महर्जन । शिव शिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्माले पनि श्रीमती गीता शर्मासँग कागजी सम्बन्धविच्छेद गरेका छन् ।
केदारनाथले ३२ हजार ६१२ बचतकर्ताबाट नौ अर्ब ४९ करोड २२ हजार ८९६ रुपैयाँ उठाएका थिए । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले पनि बचतकर्ताबाट उठाएको रकम हिनामिना गर्ने उद्देश्यले श्रीमतीसँग कागजी सम्बन्धविच्छेद गरेको पाइएको छ ।
त्यस्तै काभ्रेका स्थापित कांग्रेस नेता सिबी अर्थात् चन्द्रबहादुर लामाले पनि सहकारी ठगीबाट जोडेको सम्पत्ति जोगाउन श्रीमती जुनी श्रेष्ठसँग कागजी सम्बन्धविच्छेद गरेका छन् । यससँगै अरु थुप्रै व्यापारीले सरकारीको रकम अपचलनलाई वैधानिक देखाउन नक्कली डिभोर्स गरेको पाइएको छ ।