धनकुटाको चिसो बिहान । म झोला बोकेर बसपार्कमा उभिएको थिएँ, काठमाडौं जानका लागि । मनमा हजारौं विचारहरू वर्षात भइरहेको थियो । यात्रा सुरु हुन लागेको थियो र सबै यात्रु चढिसकेका थिए। म पनि चढेँ ।
सिट नम्बर १८, झ्याल छेउको सिटमा बसें। एकछिनमै मेरो छेउको सिटमा एउटी युवती आइन्। पहेंलो स्वेटर, कालो पाइन्ट, लामो कपाल, हल्का मुस्कान हातमा सानो ब्याग।
‘काठमाडौं ?’ मैले सहजै सोधे।
‘हो’, उनले मुस्कुराउँदै जवाफ दिइन्।
‘धनकुटाबाटै ?’
‘होइन, हिलेबाट। तपाईं ?’
‘धनकुटाबाट।’
त्यसपछि दुवैजना मौन भयौं । तर यो मौनता धेरै लामो समय टिकेन।
यात्रा रोचक बन्दै थियो ।
बसले बजार छोडेर रवि, मधेरे हुँदै अघि बढ्दै थियो। मैले चियाएर उनलाई फेरि हेरें। उनी झ्यालबाट बाहिर हेर्दै थिइन्।
‘तपाईंको नाम ?’ मैले सोधे।
‘मौसमी।’
‘राम्रो नाम।’
‘धन्यवाद। तपाईंको ?’
‘श्रीजल।’
छोटो संवाद सकियो ।
उनको हल्का हाँसोले यात्रा अझै रमाइलो हुँदै गयो। ढुंगे–साँघु आइपुग्दा हामी गफ गर्दै थियौं। यात्रा सहज र रमाइलो बन्दै गयो।
भावनाहरू नजिकिँदै जान्छन् ।
बसले धरान, इनरुवाहुँदै अघि बढ्दै थियो। विस्तारै हाम्रो कुराकानी गहिरिंदै गयो।
‘तपाईं काठमाडौंमा के गर्नुहुन्छ ?’ मौसमीले सोधिन्।
‘पत्रकारिता। तपाईं ?’
‘त्रिविमा स्नातकोत्तर गर्दैछु।’
सहयात्री मात्र होइन, अब हामी एकअर्काका जीवनका कथाहरू सुन्न थाल्यौं। कोसी पुल, मिर्चैयाहुँदै लहान आइपुग्दा उनले भनिन्, ‘यो यात्रा सधैं उस्तै लाग्थ्यो, तर आज अलि फरक छ।’
‘सहयात्री फरक भएकाले होला’, मैले मुस्कुराउँदै भने।
मौसमी झ्यालबाट बाहिर हेर्दै थिइन् । उनको अनुहारमा शान्ति थियो।
बस सिन्धुली–बर्दिबास सडकखण्ड आइपुग्दा साँझ परिसकेको थियो। मौसमी थकित देखिन्थिन्।
‘निन्द्रा लाग्यो’ मैले सोधे।
‘लागेको छ, तर बसमा मज्जाले सुत्न सक्दिनँ’, उनले भनिन्।
बसको हल्लाइले मौसमीलाई अझ नजिक ल्यायो। उनी यतिकै निदाइरहेकी थिइन्। उनका थकित आँखा बन्द थिए, र बसको थर्काईले उनको टाउको मेरो काँधमा अडियो।
म केही समयका लागि चुपचाप बसेर, सुस्तरी उनलाई नियालें। तीनको मधुर अनुहारमा केही थकान र शान्ति थियो। मेरो हात स्वाभाविक रूपमा उठ्यो, र उनको अनुहारमा आएको कपाल पन्छाउँदै मैले ध्यानपूर्वक हेरिरहें। कपालका केही लहरहरू अझै उनका अनुहारमा बसिरहेका थिए, र मैले तीनलाई पन्छाएर उनका गालामा हात राखें।
त्यही क्षणमा मेरो मनमा गहिरो भावनाले घर बनायो। मैले उनीलाई कुनै शब्दबिना, बसको हल्लाइको तालमा थाहा पाएँ कि यो एउटा अनौठो नाता हो। उनको नजिक हुनु, शान्ति महसुस गर्नु, यो सबै झनै गहिरो र मोहक थियो।
तर, यो सबै एक अधुरो अनुभव मात्र थियो। मैले केही भन्न सकिनँ। उनी निदाइरहेकी थिइन् र म उनीलाई हेरिरहें । मेरो मुटुको धड्कनलाई थाम्न खोजिरहेको थिएँ।
बस धुलिखेलहुँदै काठमाडौं नजिक आइपुग्यो। शहरको उज्यालो बत्तीहरू देखिन थाले। मौसमी ब्युँझिइन् । सायद यो यात्राको अन्त्य नजिकिएको महसुस गरेर।
‘काठमाडौंपछि तपाईंको योजना के छ ?’, मैले सोधे।
‘आफ्नै बाटो जाने’, उनले हल्का मुस्कुराउँदै भनिन्।
बस रोकियो। मौसमीले झोला बोकिन्। मैले केही भन्न चाहें, रोकिए।
‘सहयात्री बनेर यात्रामा साथ दिनुभयो । राम्रो अनि खुसी लाग्यो’, उनले भनिन्।
‘मलाई पनि’, म जबरजस्ती मुस्कूराएँ ।
मौसमी ढोकाबाट बाहिर निस्किइन्। मैले टोलाएर हेरिरहें।
उनीसँगको त्यो पहिलो भेट, पहिलो संवाद, पहिलो मुस्कान— सबै यत्तिकै अधुरो रह्यो।
प्रेम कहिलेकाहीँ गन्तव्य होइन, बसको एउटा यात्रा मात्र हुन्छ।