नेपाल पत्रकार महासंघको ‘तीनै तह’का निर्वाचनले नयाँ नेतृत्व चुनेको छ । र, केन्द्रसँगै अधिकांश प्रदेश र जिल्लामा सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका पत्रकारको गठबन्धनले जितेको छ । जुन स्वभाविक परिणाम हो । केन्द्रमा बागी उम्मेदवारी दिएर माओवादी, समाजवादी लगायतका दलसँग मिलेका कांग्रेसी पत्रकार रमेश विष्टको समूहले पनि राम्रै मत पाएको छ । त्यो पनि स्वभाविकै हो । दृश्यमा पत्रकार भए पनि नेपथ्यमा यो राजनीतिक दलकै चुनाव थियो । जुन तथ्य कतिपय अवस्था र स्थानमा यसपालि झन् उदाङ्गो भयो ।
पत्रकारिताबाहेक सबै गर्नेहरुकै बाहुल्य रहेको महासंघले शुद्धिकरणको नाममा गरेको अशुद्ध राजनीतिले महासंघको गरिमालाई झन् घटाएको थियो । अझ चुनावमा दलहरुले देखाएको निर्वस्त्र नृत्य र त्यसैअनुसार कोरस नाचिरहेका अर्धपत्रकारहरुका गतिविधिले व्यवसायिक पत्रकारकारलाई महासंघको सदस्य हुनसमेत अप्ठेरो पारेको छ ।
केन्द्र र प्रदेशसँगै जिल्लाहरुमा भएका अधिकांश गतिविधिबीच समानता छ । त्यसैले अहिले संक्षिप्त चर्चा गरौं, सिन्धुपाल्चोक जिल्लामा भएको पत्रकार महासंघको चुनाव र परिणामबारे । जसले सबैतिरको चित्रलाई बुझाउन सहयोग गर्नेछ ।
अन्यत्र जस्तै सिन्धुपाल्चोकमा पनि कांग्रेस, एमाले, माओवादी, समाजवादी र रास्वपाका पत्रकार छन् । केही पत्रकारको दल अस्पष्ट छ तर उनीहरु स्वतन्त्र भने होइनन् । यहाँ पनि दलहरुको रिमोर्ट र केन्द्रको हुकुमअनुसार कांग्रेस र एमालेका पत्रकारबीच गठबन्धन भयो । उक्त गठबन्धनको उम्मेदवार बने कांग्रेसका ध्रुव दंगाल ।
कांग्रेसको संगठन प्रेस युनियनबाट ध्रुव दंगालले टिकट पाउने कुरा कम्ति चुनौतीपूर्ण थिएन । यद्यपि, अनेक पापड पेलाइपछि दंगालले टिकट पाए र चुनाव जिते ।
कांग्रेसभित्र अध्यक्षको टिकटका लागि तीनजनाको दाबी थियो– यसअघि चुनाव हारेकी दुर्गा आचार्य, अहिले चुनाव जितेका ध्रुव दंगाल र सिके चौलागाईँ ।
खासगरी कांग्रेसका प्रभावकारी पत्रकारहरु शुदर्शन आचार्य, ऋषिराम पौडेल, युवराज पुरीलगायतको चाहना यसपालि पनि दुर्गालाई नै उम्मेदवार बनाएर जिताउने थियो । तर, दंगालले आफू उम्मेदवार हुन नपाए विद्रोह गर्ने धम्की दिएपछि उनीहरु पनि चाउरिएका थिए । उम्मेदवार छनोटमा तनाव भएपछि कांग्रेसका पत्रकारले आफूनिकट प्रेस युनियनको कार्यसमितिलाई ‘आफ्नो उम्मेदवार आफैं छान्न’ छुट दियो । प्रेस युनियनभित्र फेरि उम्मेदवार छनोटका लागि भोटिङ भयो । अधिकांशले ध्रुवलाई समर्थन गरे । धु्रव नै उम्मेदवार भए । यो कांग्रेसले अपनाएको ‘तुलनात्मकरुपमा राम्रो’ प्रयास हो ।
सिके चौलागाईंलाई कांग्रेसले खासै भाउनै दिएन । यद्यपि, उनले आफू जिल्ला पार्टी नेतृत्वको आधिकारिक उम्मेदवार भएको दाबी गरिनै रहे । उनले ‘इलेभन्थ आवर’मा आएर आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरे र एक भोट पाए ।
गठबन्धन भएअनुसार दंगालको शानदार जित हुनपर्ने थियो । किनकि, यहाँ कांग्रेसका ४२ र एमालेका २२ पत्रकार थिए । जसअनुसार उनले कम्तिमा ६४ मत पाउनुपर्ने थियो । तर, उनले जम्मा ५० मत पाए । अर्थात् उनको प्रतिस्पर्धी दिनेश थापाको भन्दा ५ भोट मात्रै बढी पाए । यसबाट प्रष्ट हुन्छ कि, कांग्रेस र एमालेका सबै पत्रकारले दंगाललाई भोट हालेनन् । अर्थात् आफूलाई कम्तिमा पत्रकार सोच्नेले दलको ह्वीप मानेनन् । अर्थात् गठबन्धनमा धोका भयो । अर्थात् प्रतिस्पर्धी थापा लोकप्रिय थिए ।
कांग्रेसतिरको भन्दा माओवादीको समर्थनमा एमालेबाट विद्रोह गरेर उम्मेदवार भएका दिनेश थापाको टिममा भएको रस्साकस्सी रोचक छ । अझ भनौं, जिल्लामा एमालेको पत्रकार भनेर चिनिएका थापा माओवादीको क्याम्पबाट चुनाव लड्नुपर्ने परिस्थिति निर्माण हुनु धेरैको चासोको विषय पनि छ । खासमा कसरी निर्माण भयो यो परिस्थिति ? एकछिन चर्चा गरौं ।
यसअघिको अधिवेशनमा देशभर कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यतिबेला सिन्धुपाल्चोकमा एउटा फरक अभ्यास भयो । जसअनुसार एमाले र माओवादीको गठबन्धन भयो । माओवादीको तर्फबाट जीवन श्रेष्ठ अध्यक्ष भए । जुन पत्रकार महासंघ सिन्धुपाल्चोकका लागि इतिहास थियो । इतिहास यो अर्थमा कि, वर्षौदेखि सिन्धुपाल्चोकमा कांग्रेसका पत्रकारले नेतृत्व गर्दै आएका थिए ।
त्यतिबेलानै एउटा एउटा यस्तो समझदारी भएको थियो कि, आगामी अधिवेशनमा अन्यन्त्र जे भए पनि जिल्लामा माओवादी र एमाले मिल्ने र माओवादीको समर्थनमा एमालेलाई नेतृत्व दिने । उक्त सहमतिअनुसार सिन्धुपाल्चोकमा यसपालि एमालेकै पत्रकारले अध्यक्ष पाउने थिए । किनकि, यहाँ एमाले र माओवादीको भोट जोड्दा मज्जाले जित्न पुग्छ ।
तर परिस्थितिले अर्को मोड त्यतिबेला लियो, जतिबेला एमालेको पत्रकार संगठन प्रेस चौतारी र कांग्रेसको संगठन प्रेस युनियनले केन्द्रीय गठबन्धनबाट बाहिर गए कडा कारबाही हुने चेतावनीसहित निर्देशन दिए । त्यस्तै दुवै पार्टीले आन्तरिक सर्कुलर गर्दै कुनै पनि हालतमा गठबन्धनलाई स्वीकार्नैपर्ने दबाब दिए । सिन्धुपाल्चोकमा प्रेस चौतारी तेस्रो ठूलो भएकाले नेतृत्व कांग्रेसकै भाग पर्यो । जुन स्वभाविक थियो ।
तर यता सिन्धुपाल्चोक चौतारीमा भने अन्योल उत्पन्न भयो– केन्द्रले भनेको मान्ने कि जिल्लामा गरेको पुरानो सम्झौता कार्यान्वयन गर्ने भन्ने । दिनेश थापा, डम्बर रसिक भारती र नेत्र पौडेलहरु जसरी पनि पुरानो सम्झौता कार्यान्वनय गरेर आफूले नेतृत्व लिने अडानमा रहे । तर, पार्टी नेतृत्वले केन्द्रीय गठबन्धनलाई असर पर्ने र आफूहरुलाई पनि केन्द्रबाट उस्तै दबाब आएकाले कांग्रेसका दंगाललाई स्वीकार्नुको विकल्प नभएको बताए । र, त्यसैअनुसार अघि बढ्न प्रेस चौतारीलाई निर्देश गरे । चौतारीले नेताहरुको निर्देशनलाई लत्याउन नसकेपछि थापाले विद्रोह गरे ।
त्यसपछि अध्यक्षमा कांग्रेस–एमाले प्यानलबाट दंगाल, कांग्रेसकै सिके चौलागाईं, एमालेबाट विद्रोह गरेका थापा र माओवादीको तर्फबाट टीका दाहालले अध्यक्षमा उम्मेदवारी दर्ता गरे । माओवादीको समर्थन पाउने निश्चित भएपछि नै थापाले उम्मेदवारी दिएका थिए । त्यसैले टीका दाहालले थापालाई समर्थन गरेको घोषणा गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
हुनत अहिलेको एमालेको जिल्ला नेतृत्वसँग दिनेश थापाको दूरी बढेको धेरै भइसकेको थियो । एमालेमा बसेर माओवादीको पक्षपोषण गरेको आरोप खेपेका थापा माओवादीकै डिजाइनमा महासंघको उम्मेदवार भएको उनीहरुको बुझाइ थियो । भलै उनीहरुबीचको द्वन्द्व जे भए पनि पत्रकार महासंघमा पार्टीकोे निर्णय स्वीकार्ने कि पोहोरको सम्झौता कार्यान्वयन गर्ने भन्नेनै विवाद मुख्य हो । यसबीच थापालाई पुरानो सम्झौता कार्यान्वयन हुन्न भन्ने पनि राम्रैसित थाहा थिए । त्यसैले उनी माओवादीलगायत समाजवादी र रास्वपासँग मिलेर गठबन्धनलाई हराउने उद्देश्यले तयार थिए । तर परिणाम फरक आइदियो ।
थापालाई विश्वास थियो कि, माओवादी, समाजवादी र रास्वपाको सबै भोट आउँछ । आफूले नै मेहनत गरेर सदस्य बनाएका चौतारीका पनि आधाजति साथीले भोट दिन्छन् । र, कांग्रेसको सिके चौलागाईं समूहबाट पनि राम्रै भोट आउँछ । तर, माओवादीका सबै सदस्यले उनलाई मत नदिएको ‘भोटको प्याटर्न’ले नै बताउँछ । र, चौतारीका साथीहरुले पनि उनले अपेक्षा गरेजति भोट दिएनन् । परिणामतः उनी ५ भोटले पराजित भए । कांग्रेस–एमालेको गठबन्धनलाई ढाल्ने माओवादीको सपना अधुरो रह्यो ।
जे–जे भए पनि चुनाव सकियो । दंगालको नेतृत्वमा नयाँ टीम बनेको छ । टीममा चौतारी र सेन्टरको समावेशी सहभागिता भएको छ । कोषाध्यक्षमा युनियनले नै धोका दिएर निरोज चौलागाईंले हारेपछि महासंघमा सेन्टरको उपस्थित सम्भव भएको छ । अब सबै मिलेर महासंघको गरिमा बढ्नेगरी काम गर्नुहोला, हार्दिक शुभकामना ।
तर, पत्रकारको संगठनमा हुने दलहरुको निर्वस्त्र नृत्य गलत छ । त्यहीं नृत्य कोरस नाच्न पाउँदा गर्व गर्ने अर्धपत्रकारको मगज पनि गलत छ । गलतलाई गलतै भनौं । महासंघको गरिमा जोगाऔं । धन्यवाद ।