Techie IT
२०८१ मंसीर ६, बिहीबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यके जीवनमा विवाह अनिवार्य छ ?

के जीवनमा विवाह अनिवार्य छ ?


अचेल ऊ खासै बोल्दैन, बोलिहरन्थ्यो । हाँस्दैन, हाँसिरहन्थ्यो । अलिअलि चिन्ता वा अलि बढी खुसी हुँदा चुरोट तान्थ्यो, तान्दैन । रक्सी पिउँथ्यो, पिउँदैन ।

टोल्हाइरहन्छ । जबरजस्त खुसी हुन खोज्छ, खुसी देखाउन खोज्छ, सक्दैन । धेरथोर बोल्दाबोल्दै रोकिन्छ । मुटुमै तीखो सियोले रोपेजस्तरी झस्कन्छ । आँखा रसिलो बनाउँछ । कहिलेकाहीँ टोल्हाउँदा–टोल्हाउँदै आँसु खसेको पत्तै पाउँदैन । भन्थ्यो, ‘खुसी कसैले दिँदैन, लुट्ने हो ।’ तर उसकै खुसी लुटिएको जस्तो देखिन्छ ।

हँसिलो मान्छेलाई निरन्तर गम्भीर देखेपछि सोधेँ, ‘के भएको छ तँलाई ?’ भन्यो, ‘केही भएको छैन । के भएको छ र मलाई ?’
अलि बढी नै खिरिल्याएपछि भावुक हुँदै भन्यो, ‘मलाई त यो विवाह परम्परा नै खारेज गर्नुपर्छ जस्तो लाग्छ यार !’

एकैचोटि निकै गह्रुङ्गो कुरा गर्यो । अनपेक्षित सवाल उठायो । एकछिन अवाक भएँ । अनि सोधें, ‘तलाईं किन यस्तो लाग्दैछ ?’

एकछिनको मौनतापछि लामो स्वास तान्दै भन्यो –‘सिरियस्ली यार, यो विवाह परम्परा खराब छ । विवाह सहयात्रा, सहजीवन, सुख र खुसीका लागि हुनुपर्ने हो । तर यहाँ विवाहकै कारण अधिकांश मानिस दुःखी छन् । पीडित छन् । मान्छेलाई दुःखी बनाउने परम्परा किन कायम राख्नुपर्यो ? खारेज गर्नुपर्छ ।’

‘तँलाई यो सब किन लाग्दैछ अहिले ?’

‘मलाई अहिले नै किन लाग्यो ? किन भन्दैछु ? बेग्लै सवाल हो । तर, यो बहसको विषय हो । यो सत्य हो कि, विवाहकै कारण मान्छेका हरचाहना, हरखुसी लुटिएका छन् । एकजनासँग जोडिएपछि ऊ अन्त कतै जोडिन पाउँदैन । यतिसम्म कि मन परेको मान्छेलाई साथी बनाउनसमेत पाउँदैन । मनका कुरा खोल्न पाउँदैन । मन नपरे पनि, कुरा नमिले पनि कतै जोडिएपछि छुटिन मुस्किल ! त्यो कस्तो बन्धन हो– जसले मान्छेका सम्पूर्ण स्वतन्त्रता, चाहना, खुसी बन्धकी राखेर दुनियाँसामू हाँसेको, खुसी भएको नाटक गर्नुपर्ने ?’

केटोको कुराले मलाई पनि गम्भीर बनायो ।

‘पछिल्लो समय डिभोर्सको घटना बढ्दो छ । यसले पनि संकेत गर्छ कि मान्छेहरू बन्धन रुचाउँदैनन् । स्वतन्त्रता चाहन्छन् । समानता चाहन्छन् । सिन्दुरले जोड्ने र कागजले छुटाउने सम्बन्ध बिल्कुल प्राविधिक हो । प्राविधिक सम्बन्धका कारण कतिपय आत्मिक सम्बन्ध ओझेल परेका छन् । आत्मा नै धितो राख्नुपर्ने परम्परा ठिक हो ?’

ऊ झन् आक्रामक हुँदै गयो ।

‘जीवनसाथी भनेको जीवन–बन्धन नहुनुपर्ने थियो, भइरहेछ । सन्तान उत्पादन गर्ने लाइसेन्सका रूपमा लिइएको विवाहले समाज झन् अस्तव्यस्त बन्दैछ । कुनैबेला समाजलाई व्यवस्थित गर्ने नाममा विवाह संस्कारको सुरुवात गरिएको होला, तर यसले व्यवस्थित गर्न सकेन । क्रमशः अस्तव्यस्त बनाउँदै लग्यो । यसले निकै भयावह स्थिति निम्त्याउने निश्चित छ ।’

यति आत्मविश्वासका साथ भनिरहेको छ कि, उसको कुरा काट्ने वा तर्क–वितर्क गर्ने ठाउँ नै छैन । जे भने उसलाई कुतर्क लाग्नेछ । त्यसैले चुपचाप, ध्यानपूर्वक उसका कुरा सुनिरहेँ ।

‘मानव सभ्यताको सुरुवातताका विवाह संस्कार थिएन । मान्छेहरू स्वतन्त्र थिए । क्रमशः भूगोलैपिच्छे फरक–फरक तरिकाले विवाह गर्ने चलन बनाइयो । जसरी गरे पनि विवाहलाई बन्धनकै रूपमा लिइयो । अझ अनुशासनको बिल्ला भिराइयो । पशुभन्दा मान्छे सर्वश्रेष्ठ र महान् भएको भ्रम फिजाउँदै चाहिने–नचाहिने नियम बनाइयो । त्यसलाई सामाजिक नियम भनियो । कतै–कतै धर्मको नाम दिइयो । मूलतः दक्षिण एसिया र हिन्दूधर्ममा विवाहवादीहरूले कट्टर नियम बनाए ।’

‘विश्वका अरू भूगोल र समुदायबारे पछि कुरा गरौंला । खासगरी नेपाल र भारतमा विवाहलाई हेर्ने तरिका र सोच्ने शैली भ्रष्ट छ । हिन्दू धर्मको हवला दिएर पुरुषले नारीमाथि निरन्तर दमन गर्न पाउने गरी विवाह पद्दति, संस्कार र सोचको निर्माण गरिएको छ । महिलालाई पुरुषको जिम्मा लगाउने, महिला पुरुषको दास हुनुपर्ने, पुरुषको खुसीका लागि महिलाले आफ्नो खुसी, चाहना तिलान्जली दिनुपर्ने गरी विवाह परम्पराको निर्माण गरिएको छ । होइन त ? के यो सही हो ?’

‘अझ पहिला बालकालमै छोरीलाई कसैको छोराका लागि दान दिनुपर्ने, छोरीले सोच्ने, बुझ्ने छुट नै नदिने, बुझ्ने भएपछि विद्रोह गर्छन् भन्ने ठानेर त्यतिबेलाका ठालू पुरुषले बनाएको काइते नियमलाई अहिलेका उत्तरआधुनिक, शिक्षित, सचेत नारीले मानिरहनु पर्छ ?’
केटो क्रान्तिकारी भावमा प्रस्तुत हुन थाल्यो ।

‘जीवन बिताउने मान्छे आफूले छान्नसमेत नपाउने गरी बनाइएको नियम क्रमशः परिमार्जित हुँदैछ । यसलाई हामीले विकास मानिरहेका छौं । यो विकास होइन । बन्नै नहुने नियम परिमार्जित हुनु विकास होइन । खराब नियम खारेजै हुनु पर्छ ।’

मैले हिम्मतका साथ बोलेँ, ‘यसो हुँदा त समाज झन् खत्तम भैहाल्छ नि यार । मान्छेले कसको बच्चा कुन हो भन्ने नि चिन्दैन !’

ऊ झन् आक्रामक हुँदै बोल्यो– ‘नचिनेर के हुन्छ ? चिनेर के भा’को छ ? अहिले पनि बच्चा कसको भन्ने त विश्वास न हो । कहाँ सबैले डिएनए परीक्षण गराएका छन् र ? अझ अर्को कुरा– मान्छे सर्वश्रेष्ठ प्राणी हो भने बच्चा कहिले जन्माउने ? कसको जन्माउने ? सँगै बस्ने कि नबस्ने ? बच्चाको हेरचाह कसले कसरी गर्ने ? आफैँ मिलाउँछन् । के विवाह बच्चा उत्पादन गर्ने माध्यम मात्रै हो त उसो भए ? यति वर्षमा बिहे गर्न पाउने, यतिमा नपाउने, यति वर्ष भएपछि यौनसम्पर्क गर्न पाउने, यो मान्छेसित पाउने ! यस्तो नियम नभत्कँदासम्म यही नै ठिक लाग्छ । किनकि, हामी यसमा अभ्यस्त भइसकेका छौं ।’

‘जनावरमा जबरस्ती करणी हुँदैन । करणी गरेर हत्या गर्दैन । तर मान्छेले किन गर्छ ? बलात्कारी कसले निर्माण गर्यो ? यही समाजले होइन ? यही सामाजिक नियमले होइन ? विवाहकै कारण सम्पूर्ण खुसी लुटिएकाहरू पनि अर्को विवाह गरेर खुसी हुने सपना साँचिरहेका छन् । किनकि, मान्छेलाई हाम्रो समाज व्यवस्थाले नराम्ररी विवाहको भूत चढाइदिएको छ । दासलाई दास हुनुमै गर्व गर्नुपर्ने, मालिकको चाकरीमै आनन्द लिने गरी सोच निर्माण गरिदिनेले नै विवाहको चलन चलाएको हो । यो किन बुझ्दैनन् मान्छेहरू ?’

‘अझ विवाहलाई जातसँग जोडिएको छ । फलानो जातबीच हुने, फलानोबीच नहुने । नहुनेबीच बिहे भए जात झर्ने । विवाह भनेको सह–जीवन हो भने विवाह गर्नेवित्तिकै जात, धर्म, थर फेरिने कसरी हुन्छ ? विवाह गर्दा जात झर्छ भन्ने वाइयात तर्कले पनि विवाहलाई शासन गर्ने माध्यमका रूपमा निर्माण गरिएको परम्परा हो भन्ने बुझ्न कठिन छैन ।’

तेस्रो कप चिया पिइसकेपछि उसले कुरालाई बीट मार्न खोज्यो ।

‘यसमा तर्क गर्ने हो भने धेरै छ । तर म तर्क गर्न चाहन्न । आम रूपमा बहस होस् भन्ने चाहन्छु । यति हो कि, महिलामाथि शोषण गर्न धर्मको हवला दिएर चलाइएको विवाह परम्परा खारेज हुनै पर्छ ।’

यतिधेरै बोलिसक्दा पनि उसले आफू दुःखी हुनुको कारण खोलेन । उसले भन्न नचाहेपछि मैले पनि खासै खोतलिनँ । सोचेँ, अर्को कुनै दिन त्यसबारे पनि सोध्नेछु ।

‘ल यार, तेरो कुराले साँच्चै गम्भीर बनायो,’ भन्दै हामी छुटियौं । हो पनि, उसको कुराले गम्भीर बनाइरहेकै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

झनपछि झन् उदांगिँदै रास्वपा !

डिपीको जस्तो ‘दास मानसिकता’ले न देशलाई भलो हुन्छ, न रास्वपालाई नै !

नाटक: न्याय

आज हस्तिनापुरले दुई जेष्ठ राजकुमारमध्ये एकलाई युवराज नियुक्त गर्नैछ महाराज। म चाहन्छु कि यो अपराधको न्याय राजकुमारले गरून् ताकि समस्त

प्रधानमन्त्रीलाई मदन भण्डारीको पत्र: समृद्ध मुलुक बनाउने यो मौका नगुमाउनुस्…

‘तपाईं चुनौतीको चाङमा मात्रै हुनुहुन्न, स्वर्णिम अवसरको संघारमा पनि हुनुहुन्छ । देश दुखेको बेला प्रधानमन्त्री बन्न सफल तपाईंले मल्हम मात्रै

स्वर्णयात्रामा सहयात्राको संकल्प (भिडिओसहित)

यत्ति हो कि, समाचारका नाममा भइरहेको भ्रमको खेतीलाई थोरै भए पनि चिर्न सकियोस् । निर्णायक भएर होइन, माध्यम भएर नागरिकमाझ

अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य

‘सालासाली भर्ती केन्द्र’का रुपमा रहेको समानुपातिक निर्वाचन प्रणाली पनि कामै छैन । धर्म निरपेक्षताको विषयमा गम्भीर बहसको जरुरी छ ।

‘मेयर सा’प, अझै अरुलाई सरापेर मात्रै सुख पाइन्छ ?’

‘माननीय केपी ओली ज्यू’ भन्दै उमेश कार्कीले खिचेको काठमाडौं डुवानको फोटो हालेर गाली गर्नुभयो । गिरीबन्धुसंग काठमाडौं डुवान भएको तुलना

Techie IT