काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन (ईभी) मा विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्स्टेन्डेड वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ । ईभीको बिक्री पछिको सेवाको क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने अपेक्षा गरिएको छ ।
बीवाईडीका एड्भान्स ईभी प्रविधिमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउन लागिएको जनाइएको छ । सो वारेन्टी अन्तर्गत विभिन्न कभरेजहरू समावेश छन् ।
जसअनुसार ब्याट्री वारेन्टी यसअघि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर रहेकोमा त्यसलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज भएको दाबी गरिएको छ ।
त्यस्तै मोटर वारेन्टी समेत बढाइएको छ । यसअघिको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ । यसले आफ्ना ग्राहकहरूलाई लामो समयसम्म ढुक्क पार्ने कम्पनीको विश्वास छ ।
यति मात्र होइन, होल भेहिकल वारेन्टीको नाममा अन्य पाटपुर्जामा उपलब्ध वारेन्टी पनि बढाइएको छ । जसमा लाइट, टायर प्रेसर मनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्याइएको छ ।
यस्तै जनरल भेइकल पार्ट्स वारेन्टी अन्तर्गत अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी पनि बढाइएको छ । त्यसलाई ७।५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटरमा विस्तार गरिएको छ ।