नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको संसदीय अभ्यास, २०१७ सालको निरंकुशता, २०३६ सालको जनमत संग्रह र २०४६ सालको जनआन्दोलन हुँदै नेपालको राजनीति क्रमिक तर गहिरो परिवर्तनतर्फ अग्रसर रह्यो।
२०५२ सालमा सुरु भएको माओवादी जनयुद्धले १० वर्षसम्म देशलाई असाधारण मोडमा पुर्यायो। यो युद्धले हजारौं नागरिकको ज्यान लियो, लाखौं मानिस विस्थापित भए, तर यसले राज्यसत्ताको चरित्र, जनताको चेतना र सामाजिक न्यायका मापदण्डहरूमा गहिरो बहस गरायो। जनयुद्धले उठाएको वर्गीय अन्याय, जातीय विभेद र क्षेत्रीय असमानताको मुद्दाले राष्ट्रिय एजेन्डा नै परिभाषित गर्यो।
त्यसपछि २०६२–६३ को ऐतिहासिक जनआन्दोलनले राजनीतिक इतिहासमा निर्णायक मोड ल्यायो। १९ दिनसम्म जनताको अपार सहभागिताले निरंकुश राजतन्त्रलाई समाप्त पार्दै गणतन्त्रको स्थापना गर्यो। यस आन्दोलनको प्रतिफलस्वरूप संविधानसभा मार्फत २०७२ सालमा नेपालको संविधान जारी भयो—जसले समावेशिता, संघीयता, धर्मनिरपेक्षता र नागरिक सर्वोच्चताको ग्यारेन्टी गर्यो।
आज संविधान केवल कानुनी दस्तावेज होइन, यो जनताको अधिकारको ढाल हो। संघीय संरचनाले जनप्रतिनिधिलाई गाउँ–टोलसम्म पुर्याएको छ। स्थानीय सरकारमार्फत विकास, जनसरोकार र नागरिक सेवाहरू प्रत्यक्ष रूपमा जनतासँग जोडिएका छन्। लोकतन्त्र अब केवल नारामा सीमित छैन, यो अभ्यासमा आएको छ।
विधान केवल कानुनी दस्तावेज होइन, यो जनताको अधिकारको ढाल हो। संघीय संरचनाले जनप्रतिनिधिलाई गाउँ–टोलसम्म पुर्याएको छ। स्थानीय सरकारमार्फत विकास, जनसरोकार र नागरिक सेवाहरू प्रत्यक्ष रूपमा जनतासँग जोडिएका छन्। लोकतन्त्र अब केवल नारामा सीमित छैन, यो अभ्यासमा आएको छ।
राजनीतिक स्थायित्व र संवैधानिक व्यवस्थापछि नेपाल अब समृद्धिको यात्रामा अघि बढिरहेको छ। सडक, पुल, जलविद्युत्, सुरुङ मार्ग, सञ्चार र डिजिटल प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ। नागढुंगा–नौबिसे सुरुङ मार्ग, पोखरा–स्याङ्जा सुरुङ, बिपी राजमार्ग, कोशी र कर्णाली जोड्ने यातायात सञ्जाल—यी सबैले देशको पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्याइरहेका छन्।
सरकारका समावेशी नीतिहरू, लगानी मैत्री वातावरण, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको सुधारले समृद्ध नेपाल निर्माणको आधार तय गरिरहेको छ। तर, यी सबै उपलब्धिहरूको जग त्यही संघर्ष र बलिदानमा गाडिएको छ—जहाँ हजारौं सहिदहरूले आफ्नो सपना राष्ट्रलाई सुम्पिए। आज हामी त्यो सपना बाँचिरहेका छौं, त्यो सपना साकार पार्ने यात्रामा हिँडिरहेका छौं।
यस लोकतन्त्र दिवस २०८२ मा हामी सबै नेपालीले संकल्प गरौं— लोकतन्त्रलाई जीवन्त बनाउने, संविधानलाई आत्मसात् गर्ने र समृद्ध, न्याययुक्त, सुशासनयुक्त नेपाल निर्माणमा आ–आफ्नो भूमिका निर्वाह गर्ने। लोकतन्त्र केवल एक व्यवस्थामात्र होइन—यो हाम्रा मूल्य, आत्मसम्मान र भविष्यप्रतिको विश्वास हो।
लोकतन्त्र दिवसको सबैमा शुभकामना !