काठमाडौं । अहिले देशमा अत्यधिक चर्चामा रहेकी एक पात्र हुन्– देवी प्रतिभा अर्थात् प्रतिभा पराजुली । पशुपतिमा आयोजित ‘कोटीहोम’ नाम दिइएको एक धार्मिक समारोहमा कथावाचककी रुपमा आएकी उनको चर्चा एक कोणबाट मात्रै भइरहेको छैन ।
सुमधुर स्वरमा कथा भन्ने कलाका कारण देवी प्रतिभाले धेरैको ध्यान खिचेकी छिन् । ‘२३ वर्षको कलिलो उमेरमै सफलताको शिखर चुम्न सफल नेपाली चेली’ भनेर पनि उनको तारिफ भइरहेको ।
तर जब उनले कथा भनेबापत ५०/६० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् भन्ने हल्ला बाहिरियो, तब कतिपयलाई जलन भयो । अझ, दायाँबायाँ दशौं जना बाउन्सर राखेर हिँडेको देखेपछि त मान्छेहरुलाई खपिनसक्नु नै भयो ।
धर्मलाई अफिम भन्नेहरुले आलोचना गर्नु त स्वभाविकै थियो, उनकै अनुयायीले समेत उछितो काड्न थाले । समाजमा जबरजस्त प्रगतिशील देखिनुपर्नेहरुले सामाजिक सञ्जालमार्फत प्रश्न गर्न थाले– प्रवचन दिँदा लोभ, क्रोध, धन सबै त्याग्नुपर्छ भन्ने, तर आफू चाहिँ करोडौं कमाउने ? दर्जनौं, सुरक्षागार्ड राखेर हिँड्ने ? विस्तारविस्तारै उनले कथावाचनका क्रममा भनेका सन्दर्भहरु कोट्याएर आलोचना हुनथाल्यो ।
उनको बचाउँमा उभिनेहरुले भन्न थाले– देवी प्रतिभाको सफलता सहन नसकेर मान्छेहरुले आलोचना गरेका हुन् । उनले कानूनको कुरा गर्ने होइन, शास्त्रमा भएको सन्दर्भ वर्णन गर्ने हो । काम गरेपछि पारिश्रमिक त जसले पनि लिइहाल्छ नि ! त्यत्तिको प्रभावशाली मान्छेलाई सुरक्षा दिनु के नौलो भयो र ?
तर, देवी प्रतिभाका अनुयायी वा आलोचक दुवैले गरेका तर्क फिक्का लाग्छन् । किनकि, त्यहाँ कसैलाई कुनै विचारले प्रेरित गरेको छैन । दुवै पक्ष भावनामा बहकिएका छन् । देवी प्रतिभाले आफ्नो सुरक्षाका लागि गार्ड राख्नु ठिक कि बेठिक, पारिश्रमिक कतिसम्म लिँदा न्यायोचित ? उनले कथावाचनमा भनेका कुरा कति व्यवहारिक र वैज्ञानिक ? भन्नेमा विवाद गर्नुभन्दा ‘कोटीहोम’ भनिएको धार्मिकसभा कत्तिको पारदर्शी छ ? बुझ्न जरुरी छ ।
धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल कुरालाई पन्छाएर सहायक कुरामा अनावश्यक तर्क गरिरहेकछन् ? खासमा धर्मको निर्माण नै यस्तै–यस्तै खाले अनेक खेती गर्नका लागि भएको हो । अर्थात् मान्छेले नियोजित रुपमा नै धर्म वा देउवाको परिकल्पना गरेको हो ।
मूलतः एउटा सीमित वर्गले ठूलो वर्ग या समुदायमाथि निरन्तर शासन गर्न बनाइएको हतियार हो, धर्म । सामाजिक नियमका नाममा कालान्तरसम्म एउटा अदृश्य वा रहस्यमयी शक्तिको आडमा विभेद गरिरहने, आफूलाई उच्च बनाइरहने, भक्तहरु निर्माण गर्ने र आफूले हालिमुहाली गरिरहने नियतका साथ धर्मको निर्माण भएको हो ।
सुरुदेखि नै धर्मले काम गर्न, खोज गर्न वा संघर्ष गर्न सिकाएन । सधैंभरी सबैकुरालाई रहस्यमयी मान्दै देउताको स्तुतिगान गाउँन प्रेरित गर्यो । ‘काम गर्नु भनेको दुःख पाउनु हो, सांसारिक मायामोहमा फस्नु हो’ भनेर मान्छेलाई नयाँ कुरा बुझ्ने मौका नै दिन चाहँदैन, धर्मले ।
धर्मकथा मान्छेले लेखेको कुरामा कुनै शंका छैन । अनेक आख्यानको निर्माण गरेर तत्कालीन टाठाबाठाहरुले नै धर्मग्रन्थ बनाए । जसका आधारमा अनेक नियम बनाए, र लादे । धर्मकै आडमा विवाह, किरिया जस्ता कुप्रथा चलाएर संस्थागत गरिएको छ । नारीमाथि जहिल्यै विभेद गर्ने नीति बनाएर नियति जस्तो बनाइएको छ । पछि, धर्मलाई जातसँग जोडियो । र विभेदलाई अझ संस्थागत गरियो । त्यसैले, धर्मका झिनामसिना अवयवमा होइन, मेरुदण्डबारे बुझौं र धारणा निर्माण गरौं ।