Techie IT
२०८१ पुस २९, सोमबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यप्रधानमन्त्रीलाई मदन भण्डारीको पत्र: समृद्ध मुलुक बनाउने यो मौका नगुमाउनुस् काम्रेड !

प्रधानमन्त्रीलाई मदन भण्डारीको पत्र: समृद्ध मुलुक बनाउने यो मौका नगुमाउनुस् काम्रेड !


सर्वप्रथम गणतन्त्र नेपालको ४५ औं प्रधानमन्त्री बन्नुभएकोमा तपाईं केपी शर्मा ओलीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । तपाईं प्रधानमन्त्री बनिरहँदा सिङ्गो देश, सम्पूर्ण जनता र तपाईंले नेतृत्व गरिरहनुभएको नेपाल कम्युनिस्ट पार्टी एमालेले जितेको महसुस गरिरहेको छ । यसअर्थमा झन् बधाई कि, तपाईं दुईतिहाई सांसदको विश्वासको मतसहित प्रधानमन्त्री बन्नुभएको छ ।

तपाईं यसअघि प्रधानमन्त्री बन्दाको विगत र अहिलेको परिस्थितिबीच केही फरक छ । तपाईं पहिलोपटक प्रधानमन्त्री बन्दा देश भूकम्पका कारण कारुणिक अवस्थामा थियो । संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीका कारण देश विकराल अवस्था थियो । उक्त विषम परिस्थितिमा पनि जसरी तपाईंले समृद्धिको नारा घन्काउनु भयो र नागरिकमा आशाको दियो जगाउनुभयो, त्यो चानचुने कुरा थिएन ।

त्यतिबेला तपाईंको रेल अनि सुरुङ मार्गको घोषणा गर्नुभयो । जसको परिणामस्वरुप हामीले केही समयपछि नागढुङा सुरुङ मार्गमा यात्रा गर्न पाउनेछौं । ‘समृद्ध देश र सुखी नेपाली’को परिकल्पनाकार तपाईंले भूकम्पमा ढलेका धरहरासहितका धरोहरलाई जसरी उठाउनुभयो, त्यसले आम नागरिकको ढलेको आशलाई पनि जगाएको छ । जसको परिणामस्वरुप तपाईं ‘राष्ट्रिय बा’ बन्नुभयो ।

पार्टीको नेतृत्व गर्दा होस् या सदन र संसदमा रहँदा नै किन नहोस् । तपाईंले देश र जनताको पक्षमा उठाएका आवाजले जोकोही नेपालीको शिर ठाडो बनाउँछ । त्यसैले तपाईंको अहिलेको प्रधानमन्त्रीत्वले हामीले झन् धेरै गर्व गर्नसक्ने बनाउनेमा आशावादी छौं ।

२००८ सालमा ताप्लेजुङको विकट गाउँमा जन्मिएर २०२७ सालमै पूर्णकालीन भूमिगत राजनीति–यात्रामा होमिनु भएका तपाईंको जीवन संघर्ष कम्ति प्रेरणादायी छैन । २०३० सालमा जेलचलान (१४ वर्ष), २०४७ सालमा युवा संघको संस्थापक, २०४८ सालमा पहिलोपटक संसद–यात्रा, २०५१ सालमा गृहमन्त्री, २०५९ सालमा एमाले विदेश विभाग प्रमुख, २०६३ सालमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री, २०७० मा संसदीय दलको नेता, २०७१ सालमा नेकपा एमाले अध्यक्ष, २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री, २०७४ सालमा दुईतिहाई बहुमतको जनादेशबाट दोस्रो कार्यकाल प्रधानमन्त्री, २०७८ सालमा तेस्रो कार्यकाल प्रधानमन्त्री, २०७९ मा दोस्रो कार्यकाल पार्टी अध्यक्ष र २०८१ सालमा चौथोपटक प्रधानमन्त्री पनि नियुक्तिले तपाईंको निरन्तर संघर्ष र सफलतालाई दर्शाउँछ । सँगसँगै देशको जीवनमा एउटा व्यक्तिले कतिसम्म योगदान गर्नसक्छ भन्ने तथ्यलाई बुझाउँछ ।

१९ वर्षकै उमेरमा भूमिगत भएर ७३ वर्षसम्म निरन्तर सक्रिय भइराख्नु चानचुने कुरा होइन । अझ उस्तै उत्साह र ऊर्जाका साथ सक्रिय तपाईंको जीवनबाट धेरैलाई प्रेरणा पनि मिलेको छ । सकारात्मक सोच र सक्रियताले रोगलाई पनि जित्न सक्दोरहेछ भन्ने प्रमाण पनि हो, तपाईंको जीवन ।

प्रतिकुल स्वास्थ्यका बाबजुत पनि पार्टी हितका लागि तपाईंले अघि सार्नुभएको मिसन ८४ होस् या झुलाघाट–चिवाभञ्झ्याङ यात्रा ! या त ग्रासरुट अभियान नै ! तपाईंको आत्मविश्वासले जोकोहीलाई जगाउँछ ।

यसपालि प्रधानमन्त्री भएको तपाईंको जग विगतको भन्दा फरक छ । संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्नैपर्ने चुनौती पनि छ तपाईंसँग । ‘धोकेबाज’ माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाइन मात्रै होइन, देशकै भविष्यका लागि तपाईंको यो कार्यकाल सार्थक हुन जरुरी छ ।

सँगसँगै संविधान संशोधनका लागि दुई ठूला दल मिलेके भनिएको छ । यदि त्यसो हो भने यो काम निकै आवश्यक र चुनौतीपूर्ण छ । र, तपाईंले शपथ ग्रहण गरेकै दिन सर्वोच्च अदालतमा नियुक्ति बदरको मागसहित मुद्दा परेको छ । यो तपाईंका लागि अर्को चुनौतीको विषय हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम तपाईं प्रधानमन्त्री हुनुभयो । तर संसद्को तेस्रो दल माओवादी केन्द्रले धारा ७६ को उपधारा ३ अन्तर्गत सरकार बन्नुपर्ने तर्क गरिरहेको छ भने सर्वोच्चले तपाईंविरुद्धको रिटमा साउन ६ गते सुनुवाइ गर्ने भएको छ । आशा छ– उक्त रिटउपर तपाईंको पक्षमा फैसला हुनेछ र संघीय संसदको दुईतिहाई विश्वासको मत प्राप्त हुनेछ ।

ठ्याक्कै तीन वर्षअघि परमादेशबाट सत्ता गुमाउँदै गर्दा भन्नुभएको त्यो बोली कानमा गुन्जिरहेको छ– जनादेशबाट फेरि प्रधानमन्त्री बन्छु । हो, फेरि उहीँ जनादेशबाट प्रधानमन्त्री बन्नुभएको छ ।

मनसुनको समय छ । देशभर बाढी, पहिरो, डुबानले सयौं घर प्रभावित भएका छन् । हजारौं बिस्थापित भएका छन् । बाटो, पुलदेखि गाडी बगाएको छ । सयौं बेपत्ता छन् । कयौं मृत्यु भएको छ । यहीं परिस्थितिबीच प्रधानमन्त्री बन्नु भएको छ । आशा छ, यी सबै समस्याको सम्बोधनमा तपाईंको भूमिका महत्वपूर्ण हुनेछ ।

भ्रष्टाचारको धमिराले देश खोक्रो भएको छ । व्यापारघाट चुलिँदो छ । लगानीकर्ताहरु निराश छन् । युवाको विदेश पलायन बढेको छ । समग्रमा देशको आर्थिक अवस्था जर्जर छ । यसलाई कुशलापूर्वक पार लगाएर मुलुकमा समृद्धिको बहार ल्याउनु कम्ति चुनौतीपूर्ण छैन । यद्यपि, सरकारमा तपाईंको उपस्थितिले बादलमा चाँदीको घेरा लागेको अनुभूत भएको छ ।

अहिले देशमा स्टन्टबाजको बिगबिगी छ । त्यसैले स्वतन्त्र नामका स्टन्टवालाहरुको भ्रमबाट जनतालाई जोगाउनुपर्ने चुनौती पनि छ, तपाईं छ । यी सब चुनौतीका बाबजुत पनि तपाईंले जनतामा आशा जाग्ने काम गर्ने कुरामा विश्वास छ । हामीलाई तपाईंप्रति आशा मात्रै होइन, भरोसा नै छ । तपाईंलाई फेरि पनि सफल कार्यकालको शुभकामना !






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल

दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको

सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका…

पत्रकारको संगठनमा हुने दलहरुको निर्वस्त्र नृत्य गलत छ । त्यहीं नृत्य कोरस नाच्न पाउँदा गर्व गर्ने अर्धपत्रकारको मगज पनि गलत

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

झनपछि झन् उदांगिँदै रास्वपा !

डिपीको जस्तो ‘दास मानसिकता’ले न देशलाई भलो हुन्छ, न रास्वपालाई नै !

नाटक: न्याय

आज हस्तिनापुरले दुई जेष्ठ राजकुमारमध्ये एकलाई युवराज नियुक्त गर्नैछ महाराज। म चाहन्छु कि यो अपराधको न्याय राजकुमारले गरून् ताकि समस्त

स्वर्णयात्रामा सहयात्राको संकल्प (भिडिओसहित)

यत्ति हो कि, समाचारका नाममा भइरहेको भ्रमको खेतीलाई थोरै भए पनि चिर्न सकियोस् । निर्णायक भएर होइन, माध्यम भएर नागरिकमाझ

Techie IT