यो देशमा सञ्चारमाध्यमको कमी भएका कारण हामी आएका होइनौं । किनकि, हामीलाई थाहा छ– यहाँ राजनीतिक दलैपिच्छेका मिडिया छन् । दलभित्रका पनि गुटैपिच्छेका मिडिया छन् । गुटभित्रका पनि नेतैपिच्छेका मिडिया छन् । अझ भनौं, ठेकेदार कम्पनीसँगै मेनपावर कम्पनी सञ्चालकको पनि आफ्नै–आफ्नै मिडिया छन् ।
आमसञ्चारमाध्यम नहुनेको पनि आ–आफ्नै सामाजिक सञ्जाल छन् । मान्छेनै पिच्छेका युट्युव च्यानल र फेसबुक पेज छन् । त्यसैले यहाँ सूचना वा समाचारको अभावमा कोही पिल्सिएका छैनन्, उल्टै खराब खबरले अधिकांशलाई सताएको छ । पचाउनै नसक्ने बनाएको छ । समाजलाई नै बिरामी बनाएको छ ।
तथ्य होइन, बहकाबमा लर्बरलिएका छन्– मिडिया । अनि त्यहीं मिडियाका उपभोक्ताहरु झन् धेरै बहकिएका छन् । गहन विषयमा सोच्ने वा बुझ्ने फुर्सद कसैलाई छैन । टापटिपे खबर र १५ सेकेण्डका भिडिओमा नै अल्झिएका छन्, आमअडिअन्स । अनि अडिअन्सको त्यहीं सेन्टिमेन्टमाथि मनलाग्दी बोलेर, देखाएर डलर कमाउन मस्त छन्– न्यू मिडिया सञ्चालकहरु । समाज यसरी बरालिएको छ कि– जसले भाषा मिलाएर बोल्यो, उ नै बाठो जस्तो, देश हाँक्नसक्ने मान्छे जस्तो । जसले मलिन ढंगमा तर्क गर्छ– ऊ चाहिँ फगत जस्तो ।
कहिले मास–मिडिया ट्रायल हुन्छ, कहिले सोसल–मिडिया ट्रायल । तर अडियन्सले पत्तै पाउँदैनन् । समाज विभक्त भइसक्छ । भ्रमले भित्रभित्रै खनिसक्छ । तर बाहिर ‘तेरो र मेरो’को लडाइँ हुन्छ । हो, अहिले त्यस्तै भइरहेको छ । त्यसैले अहिले यहाँ कुनै सञ्चारमाध्यमको अभाव भएका कारण हामी आएका होइनौं ।
हामीलाई थाहा छ– हामीले समाचार लेखेकै भरमा देशमा ठूला–ठूला परिवर्तन हुने होइन । सरकार ढाल्ने र बनाउनेमा पनि हाम्रो भूमिका हुँदैन । कुनै कर्मचारीलाई कारबाही गराउने काम पनि हाम्रो होइन । कसैलाई न्याय दिलाएर न्यायाधीश बन्नु पनि छैन । कसैलाई पक्राउ गराएर प्रहरी बन्नु पनि छैन । यत्ति हो कि, समाचारका नाममा भइरहेको भ्रमको खेतीलाई थोरै भए पनि चिर्न सकियोस् । निर्णायक भएर होइन, माध्यम भएर नागरिकमाझ प्रस्तुत हुन सकियोस् ।
हामीलाई यो पनि छैन कि– रातारात भइरल होइयोस्, डलरको बाढी लागोस् । जिन्दगीमा अरु केही गर्न नसकेर मिडिया सञ्चालन गरेको जस्तो पनि नहोस्, जे पनि गर्ने मान्छेले मिडिया खोलेको जस्तो पनि नहोस् । कम्तिमा मिडिया जस्तै मिडिया होस् । नेता, व्यपारी वा ठेकेदारले चाहेजस्तो होइन, जनताले चाहेजस्तो पनि होइन । मिडिया जस्तै मिडिया बनाउने अभिलाषा हो, यो ।
हामीलाई जबरजस्त निष्पक्ष हुनु पनि छैन । किनकि, हामीलाई थाहा छ– निष्पक्षता भनेको पनि एक प्रकारको पक्षधरता हो । र, हामी विचारविहीन नहुनुको नाताले पनि निष्पक्ष हुनै सक्दैनौं । त्यसैले हामी सधैं मानवतावादको पक्षमा उभिनेछौं । जात, भाषा, धर्म, भूगोल, दल वा कुनै पनि विचारधाराभन्दा पनि माथि छ– मानवता । त्यसैले, हो– हामी मानवता पक्षधर हौं ।
हो, अहिले भिडले लिड गरिरहेको छ– सोसाइटीलाई । सेवकभन्दा शासक खोजिरहेछन् नागरिकहरु । चेतनाभन्दा भावनामा बगिरहेछन्, मानिसहरु । छिटो परिवर्तनको लोभ र पुरानाप्रतिको वितृष्णाका कारण जस्तोलाई पनि सजिलै विश्वास गर्न अभिषप्त छन्, युवाहरु । त्यसैले यो विषम परिस्थितिमा एउटा सङ्लो मिडियाको खाँचो अनुभूत गरेर आएका छौं, हामी । समाज कायापलट गर्ने सूचना दिन नसके पनि नागरिकलाई भ्रमित हुनबाट जोगाउने नै हाम्रो मुख्य उद्देश्य हो ।
यस्तो पनि नलागेको होइन– हामीले लेखेर के नै पो हुन्छ र ? हामीले भनेर पनि के हुने हो र ? वर्षौदेखि समाचार लेखिएकै छ, सञ्चारमाध्यमबाट बोलिएकै छ । के नै भयो र– समाजको जीवनमा, आफ्नो जीवनमा ? तर, मैले गरेर कसलाई के हुन्छ र ? भन्ने सोचेर चिकित्सकले उपचार गर्न छाड्ने हो भने, इन्जिनियरले नक्सा बनाउनै बन्द गर्ने हो भने, ड्राइभरले गाडी चलाउनै छाड्ने हो भने, वैज्ञानिकले अनुसन्धाननै नगर्ने हो भने ! के होला ? त्यसैले अन्योलमा रमल्लिएको यो समाजलाई ठूलो एन्टिबायोटिकको काम गर्न नसके पनि सामान्य सिटामोल बन्न सकिने अपेक्षासहित आएको छ– स्वर्णपत्र ।
विश्वास छ– सत्य, तथ्य उत्खनन गर्ने हाम्रो सत्प्रयासमा तपाईंको पनि साथ हुनेछ । हाम्रो स्वर्ण आवाज, स्वर्ण विचार र स्वर्ण संवादमा तपाईंको पनि प्रत्यक्ष सहभागीता हुनेछ । र, हामी सँगैसँगै यात्रा गर्नेछौं, स्वर्णपत्रको स्वर्णयात्रामा ।
हेर्नुहोस् भिडियो