काठमाडौं । रास्वपा महामन्त्रीबाट निकालिएपछि मुकुल ढकाल नराम्ररी रन्थनिएका छन् । उनका अभिव्यक्तिहरु ‘बेसुरे पो हुन् कि’ जस्ता सुनिन्छन् । जब अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीले महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारीबाट हटायो, तब उनले प्रेसमिट गरेर ‘रवि लामिछानेको क्लब’बाट निकालिए पनि ‘घण्टी बजाउन नछाड्ने’ प्रतिक्रिया दिए ।
रविभक्तबाहेक अरुले उनको उक्त प्रतिक्रियाको प्रशंसा नै गरेका थिए । धेरैले भनेका थिए– मुकुल त नराम्ररी पेलानमा परेका रहेछन् र पो त्यस्तो प्रतिवेदन दिएका रहेछन् ।
रविसँगै रास्वपाविरोधीहरुको सेन्टिमेन्ट क्याच गरिरहेकै बेला उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिए । जहाँ उनले पार्टी सभापति लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग प्रधानमन्त्रीका लागि बार्गेनिङ गरेको खुलासा गरे । पार्टी सभापति लामिछानेले गृहमन्त्री भइसकेपछि प्रधानमन्त्रीका लागि राजदूतसँग याचना गरेको मात्रै होइन, प्रधानमन्त्री बनाइदिए नेपाललाई भुटानीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको मुकुलको आरोप छ ।
मुकुलले लगाएको उक्त आरोप चानचुनेखाले होइन । यतिसम्म कि, आरोप अतिगम्भीर भएकै कारण रविविरोधीहरुले पनि मुकुलको कुरा पत्याएनन् । धेरैको एउटै प्रश्न थियो– यदि यति गम्भीर कुरा थाहा थियो भने पहिला किन नभनेको ?
मुकुलको उक्त आरोपबारे अनेक क्रिया–प्रतिक्रिया भइरहेकै थिए । उनले फेरि सामाजिक सञ्जालमा अर्को स्टाटस लेखे– रास्वपा उपसभापति वाग्लेले कुट्ने धम्की दिए, त्यसैले प्रहरीसँग सुरक्षा मागेको छु ! भनेर । उक्त स्टाटसपछि मुकुलको तौल झन् घट्यो । मान्छेहरुले भन्न थाले– महामन्त्रीबाट मुक्त भएपछि मुकुलको मानसिक स्वास्थ्यमा नै समस्या आयो कि क्या हो !
हुनत रास्वपाबाट निक्लनका लागि उनी आफैंले निहु खोजेका हुन् । पार्टीको नीतिअनुसार नै देश दौडाहा गरेर महामन्त्री ढकालले ल्याएको रिपोर्टपछि नै रास्वपामा खैलाबैला मच्चिएको हो ।
जब प्रतिवेदनमा महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुनसक्ने चेतावनी दिए, तब पार्टीमा विवादले उग्र रुप लिएको थियो ।
महामन्त्री ढकालले प्रतिवेदनमा पार्टीको एजेन्डा, आन्तरिक प्रशासन, समन्वय विधि, संगठनात्मक ढाँचा र संरचना तथा आगामी कार्यदिशाबारे सुझाव पनि दिएका थिए । जसलाई पार्टी सभापति रावि लामिछानेले पचाउन सकेनन् । र विवाद बढ्यो ।
उत्कर्षमा पुगेको विवाद पार्टी केन्द्रीय समिति बैठकमा छताछुल्ल भयो । महामन्त्री ढकाललाई प्रतिवेदन पेश गर्न नै दिइएन । बैठकमा उनी विरोधस्वरुप मुखमा पट्टी बाँधेर बसे ।
खासमा इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । र, उनले पुराना दलभन्दा अरु स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा हुने पनि प्रतिवेदनमा उल्लेख गरेका थिए । रास्वपालाई ‘रविको पार्टी’ बनाउने कि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने भन्ने ढकालको प्रश्नले सभापति लामिछानेलाई गहिरो ढंगमा प्रहार गरेको थियो ।
ढकालले प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको थियो । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको थियो ।
हुन पनि हो, स्थापनाको ६ महिनामै अनपेक्षित सफलता हात पारेको रास्वपा दोस्रोपटक सरकारमा गएको तीन–चार महिनामै नराम्ररी स्खलित भएको छ । पहिलोपटक गृहमन्त्री हुँदा नागरिकता कसुरमा दोषी प्रमाणित भएपछि दोस्रोपटक चुनाव लडेर फेरि गृहमन्त्री भएका लामिछानेले चार महिनामा देखिने खालको केही पनि काम गर्न सकेनन् । श्रम, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले पनि रास्वपाले कुनै नवीन योजना ल्याउन सकेन ।
कतिपयले महामन्त्री ढकालले पार्टी फुटाउन खोजेको टिप्पणी पनि गरिरहेका छन् । ढकालमा बढेको घमण्डका कारण पार्टी नीतिविरुद्ध प्रतिवेदन आएको रास्वपाका कतिपय नेताहरुको ठम्याइ छ । तर, यति कठोर प्रतिवेदन ल्याउने ढकालविरुद्ध कति छन् त कार्यकर्ता ? धेरैको चासो छ ।
खासमा ढकाल चिकित्सक हुन् । सञ्चारकर्मी हुँदा रवि लामिछानेको पहलमा बनेको कालिकोटको रास्कोट अस्पतालमा काम गरिरहेका ढकाललाई रास्वपाको महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तत्कालीन समयमा लामिछाने र ढकालको सम्बन्ध एकदमै सुमधुर मात्रै होइन, ढकाल लामिछानेको विश्वासपात्र नै थिए ।
पछिल्लो समय पार्टीमा सभापति लामिछानेको मात्रै राइँदाइँ भएपछि ढकाललाई खपिनसक्नु भएको थियो । पार्टीलाई रविको कम्पनी जस्तो बनाएकोप्रति उनको पहिलोदेखि नै असन्तुष्टि थियो । हुन पनि रास्वपामा रविविरुद्ध आवाज निकाल्नु चानचुने आँटको कुरा थिएन, जहाँ अहिले स्वर्णिम वाग्ले र विराजभक्तहरु पनि अघोषितरुपमा मुखमा पट्टी बाँधेरै अडिएका छन् ।