काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले केहीदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ अचाक्ली महँगो भएको विषय उठान गरिन् त्यसपछि यो विषय सतहमा आएको छ ।
अहिले विमानस्थलको पार्किङ शुल्कलाई लिएर सामाजिक सञ्जालमार्फत सर्वसाधारणले असन्तुष्टि जनाइरहेका छन् । एकैपटक दोब्बर बनाएपछि सर्वसाधारणको गम्भीर असन्तुष्टि देखिएको हो । विमानस्थलमा गत भदौ १० देखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको छ ।
नयाँ शुल्कअनुसार मोटरसाइकल, स्कुटर, रिक्साको पार्किङ शुल्क प्रतिघण्टा ४० र प्रतिदिनको शुल्क २४० रुपैयाँ रहेको छ । यसअघि प्रतिघण्टा ५ र प्रतिदिन ३० रुपैयाँमात्र थियो । यस्तै कार, जिप, लिमोनिम, टेम्पो आदिको पार्किङ शुल्क प्रतिघण्टा ८० र एक दिनको ४८० रुपैयाँ रहेको छ । यसअघि कार, जिप, टेम्पो, लिमोजिम आदिको प्रतिघण्टा २० र एक दिन १२० तथा ३ महिनाको ३ हजार रुपैयाँ थियो ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ बमोजिम क्यानले दुई वर्षअघि आठ गुनासम्म वृद्धि गरेको नयाँ पार्किङ शुल्क १० भदौदेखि कार्यान्वयनमा आएको हो । क्यानले ०७९ मंसिर १ देखि लागू हुने गरी असोजमा देशैभर सञ्चालनमा रहेका विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको थियो ।