नगर्नु विहे गरिसकेपछि सम्बन्धविच्छेद गर्नै हुँदैन । किनकि, सम्बन्धविच्छेद गर्नु भनेको ‘पाप’ हो’, यो भनाइ हो– विवादित कथावाचक देवी प्रतिभाको । उनी अझ भन्छिन्– श्रीमान जस्तो भए पनि श्रीमतीले स्वीकार्न सक्नुपर्छ, बरु जिन्दगीभर पीडा नै सहनुपर्छ तर डिभोर्स गर्नु हुँदैन । किनभने, शास्त्रमा डिभोर्स भन्ने शब्द नै छैन । अर्थात् शास्त्रमै नभएको काम गर्यो ‘पाप’ लाग्छ ।
यहीं भनाइका कारण उनी अत्यधिक विवादमा तानिइन् । ‘पुरुषले जति पीडा दिए पनि महिलाले सहनुपर्छ’ भन्ने उनको भनाइविरुद्ध केही महिलावादी र प्रगतिशीलहरु कडा प्रतिवादमा उत्रिए । अर्काखाले महिला, जो पुरुषले दिएको पीडालाई नियति ठानेर स्वीकार्न बाध्य छन्, उनीहरुलाई देवी प्रतिभाको कुरा एकदम ठिक लाग्यो । लाग्यो– समाज भँडुवाहरुले मात्रै हो डिभोर्सको कुरा गर्ने ! हामीले किन पीडा सहन नपाउने ?
र जो धार्मिक हुनुमा गर्व गर्छन्, उनीहरुले ‘डिभोर्स पक्षधर’लाई डलरवादीको संज्ञा दिएर सरापिरहेका छन् । खासमा सम्बन्धविच्छेद र धर्मको कुनै सम्बन्ध छैन, हुँदैन । तर यसले के बुझाउँछ भने, धर्मको आवरणमा पितृसत्तालाई कसरी संस्थागत गर्न खोजिँदैछ ? मान्छेको आस्थामाथि खेलेर कसरी विभेदलाई मलजल गरिँदैछ ? जबकि, महिलाविरोधी मान्यतालाई महिलाले नै फलाकेर महिलालाई नै पत्याउन बाध्य पारिन्छ । यहाँ देवी प्रतिभा वा अरु कोही त मुखडा मात्रै हुन् । किनकि, डिभोर्स नै गरेकी राधिका दासीले पनि सँस्कृतको उल्था गर्दा भन्दिहुन्– डिभोर्स गर्नु भनेको पाप हो । त्यसैले यहाँ ‘कसले के भन्यो’ होइन, नियोजितरुपमा कसरी महिलामाथिको विभेदलाई सैद्धान्तिकीकरण गरिन्छ भन्ने कुरा प्रधान हो ।
डिभोर्स मात्रै होइन, यहाँ विवाहकै परिकल्पना पनि खराब नियतका साथ गरिएको छ । जसको परिणामस्वरुप– सहयात्रा, सहजीवन, सुख र खुसीका लागि हुनुपर्ने विवाहकै कारण अधिकांश मान्छे दुखी छन् । विवाहकै कारण मान्छेको स्वतन्त्रता बन्धक भएको छ । हरचाहनासँगै हरखुसी लुटिएको छ । त्यसैले त पछिल्लो समय डिभोर्सको घटना पनि बढ्दो छ । यसले पनि संकेत गर्छ कि मान्छेहरू बन्धन रुचाउँदैनन् । स्वतन्त्रता चाहन्छन् । समानता चाहन्छन् । सिन्दुरले जोड्ने र कागजले छुटाउने सम्बन्धभन्दा माथि उठ्न खोजिरहेछन् मानिसहरु ।
सायद, मानव सभ्यताको सुरुवातताका विवाह संस्कार थिएन । मान्छेहरू स्वतन्त्र थिए । क्रमशः भूगोलैपिच्छे फरक–फरक तरिकाले विवाह गर्ने चलन बनाइयो । जसरी गरे पनि विवाहलाई बन्धनकै रूपमा लिइयो । खासगरी नेपाल र भारतमा विवाहलाई हेर्ने तरिका र सोच्ने शैली बढी भ्रष्ट छ । धर्मको हवला दिएर पुरुषले नारीमाथि निरन्तर दमन गर्न पाउने गरी विवाह पद्दति, संस्कार र सोचको निर्माण गरिएको छ । महिलालाई पुरुषको जिम्मा लगाउने, महिला पुरुषको दास हुनुपर्ने, पुरुषको खुसीका लागि महिलाले आफ्नो खुसी र चाहना तिलान्जली दिनुपर्ने गरी विवाह परम्पराको निर्माण गरिएको छ । त्यसकै परिणाम हो– देवी प्रतिभाले दिएको उक्त अभिव्यक्ति !
यहाँ अझै कोही भक्त वा दास हुन पाउनुपर्छ र भ्रममा बाँच्न पाउनुपर्छ भनेर चर्को स्वरमा चिच्चयाइरहेका छन् । अझ भनौं, यहाँ त्यसरी चिच्याउनेहरुकै जमात ठूलो छ । तर, आस्थाको आवरणमा हुने कुनै पनि विभेद स्वीकार्य हुनै सक्दैन ।